कान्तिपुर मिडिया प्रमुखको गिरफ्तारीमा पत्रकार संघहरुको तीव्र विरोध, प्रेस स्वतन्त्रता हननको आरोप

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले समाचार प्रकाशन गरेकै आधारमा गिरफ्तार गर्नु पुष्पकमल दाहाल सरकारको मूर्खता भएको बताउनु भएको छ। उहाँले मिडियामाथिको आक्रमण सह्य नहुने पनि बताउनुभयो।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्न कान्तिपुर मुख्यालयमै प्रहरी पुगेपछि कँडेलले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले सत्ता र शक्तिको दुरुपयोग भएको पनि बताउनुभयो।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पनि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि बलजफ्ती गिरफ्तार गरेकामा आपत्ति जनाउनुभएको छ। वरिष्ठ पत्रकार युवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नियोजित षड्यन्त्र रहेको बताउनुभएको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सिरोहिया पक्राउको घटना निन्दनीय र गृहमन्त्रीको इगोका रुपमा बुझ्न सकिने बताउनुभएको छ। उहाँले नेपालको पत्रकारितालाई निमोठ्ने, मार्ने काम भएको र राज्यले नांगो नाच देखाएको बताउनुभयो। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सरकारको यो कदमको विरुद्धमा आफूहरु रहेको र लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको उपहास गरेको बताउनुभयो। महासंघले सरकारको यो कदमको विरुद्धमा उत्रिने पनि प्रतिक्रिया दिनुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *