प्रतिपक्षीको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक बहुमतले फिर्ता

काठमाडौं, सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत भएको घोषणा गरेका छन्। गृहमन्त्री रवि लामिछानेलाई मर्यादापालकले रोष्ट्रमसम्म पुर्याएर राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गरिएको थियो। मन्त्रिपरिषद्ले जेठ ३ गतेको बैठकमा विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराइएको थियो।

सभामुख घिमिरेले प्रस्ताव पेस भएपछि विरोधका लागि समय दिएका थिए। कांग्रेस सांसद रामहरि खतिवडाले वेलमा नाराबाजी गर्दै आफ्नो विरोध रहेको बताए। तर, सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।

यो विधेयक राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४०/४० प्रतिशत समर्थन हुनुपर्ने व्यवस्था पुन:स्थापित गर्न पेस गरिएको थियो। विधेयक फिर्ता लिन सरकारले संसद सचिवालयमा पत्र पठाएको थियो।

विधेयक फिर्ता लिने प्रस्ताव संसदमा पेस गर्दा प्रतिपक्षी दलहरुले विरोध जनाए पनि सभामुखले बहुमतको आधारमा प्रस्ताव स्वीकृत भएको घोषणा गरेका हुन्। यसले राजनीतिक दल विभाजनका नियमहरुमा पुनर्विचार गर्नुपर्ने स्थिति आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *