प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलो भएकोले सधैँ बन्धक बन्न नसक्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श कार्यक्रममा बोल्दै घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए।
सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए। यदि संसद्बाट नीति तथा कार्यक्रम र बजेट पारित हुन नसक्ने अवस्था आएमा अध्यादेशको बाटोबाट जानुपर्ने भएकोले लोकतन्त्र बलियो हुन नसक्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसकेको उल्लेख गर्दै घिमिरेले सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र पत्रकारिताजगत्ले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको सन्दर्भमा उनले पत्रकारहरुलाई राजनीतिक स्थायित्व र समृद्धिका लागि कलम चलाउन सुझाव दिए।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र जनताबाट निर्वाचितहरुले जे गरे पनि हुन्छ भन्ने दम्भले लोकतन्त्रलाई आघात पुर्याउने बताए। मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नभए संविधान जोखिममा पर्न सक्ने चेतावनी दिँदै रिजालले पत्रकारिताजगत्लाई सचेत हुन आग्रह गरे। कार्यक्रममा विभिन्न पत्रकारहरुलाई सम्मान गरिएको थियो र वरिष्ठ पत्रकारहरुले पत्रकारिताको सामयिक विमर्शमा विचार प्रस्तुत गरेका थिए।


