त्यो दिनको ठ्याक्कै तिथि र मिति त थाहा भएन सानु । तर, जुनदिन तिमीलाई देखेँ त्यस दिन देखिनै मैले तिमीलाई यो मेरो मन – मुटुमा राखिसकेको थिएँ । अझ भनौँ, तिमीलाई मेरो अन्तरआत्मादेखि नै स्नेहपूर्वक आफ्नै स्वीकार गरिसकेको थिएँ । उमेरकै कुरा गर्ने हो भने नि प्यारी त्यतिबेला म सानै थिएँ, जुनबेला प्रेम गर्नु अनि प्रेमको परिभाषा के हो ? भन्ने कुरामा पनि सायद अनभिज्ञ नै थिएँ म ।
तर, तिमीलाई गरेको त्यो बेलाकै माया या आकर्षण जे भनौँ कत्ति कम थिएन । त्यो कुनै बाल्यपन मात्रै पनि थिएन । आँखाले देख्यो, मनले भित्रैदेखि मन परायो अनि मस्तिष्कले जसरी पनि आफ्नै बनाउँछु भन्ने सोच्यो । के त्यो प्रेम थिएन र प्यारी ? हो, त्यो नै मेरा लागि प्रेम थियो । चोखो, पवित्र अनि साँचो माया पनि । मैले तिमीबाहेक अरु कसैसँग आफूलाई कल्पनासम्म पनि गरेर हेरिनँ र कहीले गर्न पनि हिम्मत गर्न सक्दिन । किनकि, मेरो मनमस्तिष्कमा तिमी मात्रै थियौ । म तिमीलाई असाध्यै प्रेम गर्थें । हुन त, उमेरकै हिसाबले अपरिपक्व बच्चा नै थिएँ म, तिमीजस्तै ।
तर, मलाई केही थाहा थिएन । तिमी मलाई किन यति धेरै मन पछ्र्यौ ? मलाई पलपल आफूलाई तिमीभित्रै समाहित भएको आभाष हुन्थ्यो । तिम्रै काखमा लुटपुटिरहेको कल्पनामा हराउँथेँ । तिमीभन्दा परको न कुनै संसार देख्थेँ, न कुनै कल्पना नै । र त मेरा सारा प्रेम तिमीमै समर्पण गर्न चाहन्थेँ, तिमीमै हराउन चाहन्थेँ ।
सानु , तर दुःखको कुरा वर्षौंसम्म पनि मैले मेरो मनको कुरा मनमै राखिरहेँ । ‘म तिमीलाई प्रेम गर्छु’ यी शब्दहरुको पोको मैले तिम्रो सामु फुकाउने आँट गर्नै सकिनँ । अहँ, सक्दै सकिनँ । हिम्मत नै जुटेन, तिम्रो सामु पर्न अनि तिमीलाई प्रेम प्रस्ताव राख्न । तर, हरेक क्षण म तिमीलाई नै सोचिरहेको हुन्थेँ ।
हरेक पल तिमीमा हराउँदाको त्यो मीठो आनन्द, आजसम्म मैले कुनै वस्तु या चीजमा पाएको थिइनँ । तिम्रो ओठको मधुर मुस्कान देख्दा म त्यसै–त्यसै हराइरहेको हुन्थेँ । म तिमीमा यति विलीन भैसकेको थिएँ कि यस्तो लाग्थ्यो, यो दुनियाँमा मैले तिमीलाई गरेजति माया त न मदनले मुनालाई गरे, न हीरले राँझालाई गरे, न रेशमले नैनालाई गरे, न त रोमियो–जुलियटको माया को नै कुरा किन नआओस् ।
यस्तो लाग्थ्यो, यदि मायामा पनि पैसा प्राप्त हुन्थ्यो र त्यसको कर पनि सरकारलाई बुझाउनुपथ्र्यो भने संसारकै धनी र बढी कर बुझाउनेमा म नै पर्थें होला सायद ।
मलाई लाग्थ्यो, तिमीलाई देख्नु भन्दा अगाडि त मेरो जीवनको अर्थै थिएन । सामान्यभन्दा सामान्य कुराको पनि ज्ञान थिएन । तर, जुनदिन तिमीलाई देखेँ त्यसदिनदेखि हरेक समयको हरेक पल मलाई याद छ, क्रमैसँग । मलाई तिमीले जिउन सिकायौ । मेरो जिउने आधार नै तिमी बन्यौ ।
आमाले जन्माउनु भयो र बाबाले आफ्नो काखमा राखेर हुर्काउनु भयो ,यो बारे बर्णन गर्नी केहि शब्द नै छैन सानु तर जब मैले आफ्नो होस् समाल्दै आइ तब हरेक परिस्थितिसँग पौँठेजोरी खेल्दै अघि बढ्न त तिमीले सिकायौ मलाई । हो, मात्र तिमीले । या भनौँ, मैले तिमीलाई गरेको मायाले नै मलाई त्यस्तो बनायो । किन ? , कसरी? , के कारण ? अहँ, यी प्रश्नहरुको जवाफ थिएन मसँग । तर, जुनदिन तिमी मेरो नजरमा आयौ त्यसै दिनदेखि मैंले हाम्रो नयाँ संसार र नयाँ जीवनको समेत कल्पना गर्न थालिसकेको थिएँ ।
तिमी आएको, बोलेको, हाँसेको, बसेको, खाएको, गएको आदि इत्यादि सम्पूर्ण तिम्रा क्रियाकलापहरु मेरो मनमस्तिष्कमा यसरी सल्बलाइरहेका छन् कि त्यो त म चितामा जल्दा पनि बिर्सन सक्दिनँ होला, कसम !
एउटै कलेज , म टाढाबाट धाएर आउँथे भने तिमी नजिकैबाट । म कलेज आउँदा धुलो, मैलो अनि पसिनाले गर्दा फुका माटो भएको खेतमा लडेर भनौ या धानरोप्ने समयमा रोपाइँ गरी फर्किएझैँ फुस्रै फोहोरी भएर आउँथे । तर, तिमी गोडामा फोहोर पो लाग्ने हो कि भन्दै बिस्तारै बिस्तारै आउँथ्यौ । जान – अन्जानमा कतै मबाट तिम्रो शरीरमा छोइयो भने कतै तिमीलाई फोहोर पो लाग्ने हो कि भन्ने डर लाग्थ्यो मलाई । टाढाबाट कलेज आउँथे । थकाइ लाग्थ्यो ।
जसका कारण कहिलेकाहीँ निदाई पनि हाल्थेँ । यदि सरले पढाएको बुझियो भने ‘बुझेँ’ को इशारा स्वरुप मुन्टो हल्लायो, नत्र भने त्यसै घर फर्किन्थेँ । तर, तिमी पढाइ भनेपछि यति हुरूक्कै हुन्थ्यौ कि त्यो त साँच्चै भन्ने हो भने मेरो कल्पनाभन्दा बाहिरको कुरो थियो । कक्षामा कुनै पनि विषयमा सरहरुले प्रश्न सोध्दा तिमीले मात्रै उक्त प्रश्नको जवाफ दिन सक्थ्यौ । म लगायत अन्य साथीहरु पनि अचम्मै पर्थे, तिम्रो त्यो दिमाग देखेर ।
तिम्रो त्यो क्षमताले झनै तिमीप्रति भुतुक्कै बनाउँथ्यो मलाई, सानु । तिम्रो मेहनत, लगनशीलता अनि अरुभन्दा बिल्कुलै फरक आनीबानीले गर्दा त मुटुभरि तिमीलाई सजाएको थिएँ नि सानु । हरेक रात मेरो सपनीमा आएर अँगालोमा बेरिन्थ्यौ । तर, बिहान उठ्दा तिमीलाई पाउँदिनथेँ, अनि निराश हुन्थेँ , किनकि त्यो त सपना मात्रै थियो । जुन बिपनामा सम्भव नै थिएन । साँच्चै भन्ने हो भने कक्षामा होस् या कलेजभरि कुनै पनि केटीहरुलाई केटीजस्तो पनि देख्दिनथेँ । खै, तिमीमा त्यस्तो के जादु थियो, त्यो म के जानौँ र !