प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पेस, कांग्रेसको अवरोध

काठमाडौं — कांग्रेस सांसदहरूको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पेस गरेका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले नाराबाजी गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।

प्रचण्डले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने भन्दै सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए। उनले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्डलगायत प्रकरणमा सरकारको कारबाहीले जनतामा लोकतन्त्रप्रति विश्वास बढेको उल्लेख गरे।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा प्रधानमन्त्रीले चुनौतीहरू सम्बोधन गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले जसपा नेपालप्रति आभारीता व्यक्त गर्दै समर्थन वा विरोधको राजनीतिक अधिकारलाई सम्मान गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालीन प्रतिबद्धताहरू पूरा गर्न संसदको साथ र सहयोग अपरिहार्य भएको बताए। भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग निर्यात सम्भावना बढिरहेको अवस्थामा ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *