१९ साउन, बागमती — बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध दायर गरिएको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा थापाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइ भइरहेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाले सार्वजनिक पदमा रहँदा स्रोत नखुलेको रकमबाट ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको भन्दै २०८० चैत २७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारको अभियोगपत्रअनुसार थापाले परिवारका सदस्य र नातेदारमार्फत सम्पत्ति व्यवस्थापन गरेका थिए। उनीसँगै उनकी श्रीमती, आमा, भाइ, भाइबुहारी लगायतलाई पनि प्रतिवादी बनाउँदै सम्पत्ति जफतको माग गरिएको छ। सोही मुद्दामा थापाले आफ्नो परिवारका नाममा कम्पनी स्थापना, सहकारीमा लगानी र जग्गा किनबेच गरेको विवरणसमेत पेश गरिएको छ।
थापामाथि सहकारीमार्फत अनियमित रुपमा ऋण तिरेको देखाइएको छ, तर तिर्ने रकमको स्रोत नखुलेको अख्तियारको भनाइ छ। विशेष अदालतले मुद्दा निरन्तरता दिँदै सोमबारको सुनुवाइ अगाडि बढाइरहेको छ।


