काठमाडौं । बुटवल–नारायणगढ सडकअन्तर्गत पर्ने दाउन्ने खण्ड गत एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने यो क्षेत्रमा साउन १, २०७९ देखि असार ३२, २०८० सम्म सडक अवरुद्ध हुने क्रम निरन्तर रहँदै आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख जनक बन्जाराका अनुसार, उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका घटनामा अधिकांश पहिरो र भारी वर्षा मुख्य कारण हुन्। साथै सडक मर्मतका क्रममा प्रयोग भएका ठूलो उपकरण जाम हुनु, र ट्रक बिग्रिएर सडकमा रोकिनुले पनि घण्टौंसम्म यातायात प्रभावित भएको उनले बताए।
दाउन्ने क्षेत्रमा विशेष गरी विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता ठाउँहरूमा सडक अवरुद्ध हुने घटना बढी देखिएको छ। सडक विस्तारका लागि पहाडमा भित्तो कटान सुरु भएपछि समस्या झन् बढेको छ। उक्त खण्डको कुल दूरी १४ किलोमिटर रहेको छ।
वर्षाको समयमा पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धूलोले दाउन्ने क्षेत्रमा आवागमन समस्या बनाएको बन्जाराले बताए।
गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ को दुम्कीवासमा रहेको विनयी खोला पुल भाँचिएपछि यहाँको यातायात थप अस्तव्यस्त बनेको थियो। निर्माण गरिएको अस्थायी डाइभर्सन खोलाले पटकपटक बगाउँदा यातायात अवरुद्ध हुने क्रम जारी थियो। तर, गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि समस्या केही टरेको छ।
दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि ३१ गतेसम्म र वैशाख १ देखि ३१ गतेसम्म अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएर काम गरिएको थियो। अहिले पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको छ, जसको जानकारी पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले दिएका छन्।
नारायणगढ–बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर क्षेत्रमा सर्भिस लेनसहित ६ लेन सडक विस्तार भइरहेको छ। विशेष जोखिमयुक्त दाउन्ने क्षेत्रमा १४ किलोमिटर सडक तीन लेनमा विस्तार गर्ने योजना कार्यान्वयनमा छ। रु १७ अर्ब लागतमा चीनको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको यो कामका लागि तीनपटक म्याद थप भइसकेको छ र यसलाई साउन मसान्तसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।


