मुक्तिनाथ केबुलकार परियोजनाको ईआईए प्रतिवेदन सार्वजनिक

मुक्तिनाथ केबुलकार परियोजनाको ईआईए प्रतिवेदन सार्वजनिक

१ फागुन, काठमाडौं । पर्वत शेराफाँटदेखि मुस्ताङ मुक्तिनाथसम्म पुग्ने प्रस्तावित महत्त्वाकांक्षी केबुलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भई सार्वजनिक गरिएको छ। मुक्तिनाथ दर्शन प्रालिले लगानी बोर्डमार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेपछि सुझावका लागि सार्वजनिक गरिएको हो। प्रतिवेदनअनुसार यो केबुलकारको कुल लम्बाइ ८१.०४१ किलोमिटर हुनेछ र यसमा २० वटा स्टेसन रहनेछन्।

केबुलकार पर्वतको मोदी गाउँपालिका–१ बाट सुरु भई कास्की, म्याग्दी र मुस्ताङका विभिन्न गाउँपालिकाका क्षेत्र हुँदै मुक्तिनाथ क्षेत्रसम्म पुग्नेछ। शेराफाँट, उल्लेरी, घोडेपानी, घासा, लेते, टुकुचे, मार्फा, कागबेनी हुँदै चेगरिसीमा अन्त्य हुने मार्ग प्रस्ताव गरिएको छ। ननस्टप यात्रामा ३ घण्टा ३६ मिनेटमा मुक्तिनाथ पुग्न सकिने अनुमान गरिएको छ।

प्रतिवेदनअनुसार केबुलकारमा ८ सय ७१ गोन्डोला र ४ सय ४२ टावर रहनेछन्। एक गोन्डोलामा १० यात्रु बस्न सक्ने क्षमता हुनेछ र प्रतिगोन्डोला दूरी २ सय ३४ मिटर प्रस्ताव गरिएको छ। आयोजना समुद्र सतहबाट १ हजार ९ मिटर उचाइबाट सुरु भई ३ हजार ६ सय ५३ मिटर उचाइमा पुगेर अन्त्य हुनेछ। आयोजना सञ्चालनका लागि अधिकतम १३ मेगावाट विद्युत आवश्यक पर्ने उल्लेख छ।

आयोजनाको लागत ५५ अर्ब रुपैयाँ अनुमान गरिएको छ भने कुल वातावरणीय लागत ७८ करोड १२ लाख रुपैयाँभन्दा बढी रहनेछ। आयोजनाका लागि कुल २७१.७५ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमा स्टेसनका लागि ३४ हेक्टर र टावरका लागि करिब ४ हेक्टर जमिन प्रयोग हुनेछ। यसमध्ये ठूलो हिस्सा अन्नपूर्ण संरक्षण क्षेत्र र सामुदायिक वन क्षेत्रमा पर्ने उल्लेख गरिएको छ।

आयोजनाबाट करिब २ सय २९ घरधुरी प्रभावित हुने र ३४ घरधुरी विस्थापित हुने अनुमान गरिएको छ। निर्माण चरणमा १ हजार ७ सयभन्दा बढी र सञ्चालनका क्रममा ४ सयभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। प्रतिवेदनले सडक विस्तार वा विमानस्थल विस्तारभन्दा केबुलकार वातावरणमैत्री, कम जोखिमयुक्त र सबै मौसममा सञ्चालन सम्भव विकल्प भएको निष्कर्ष निकालेको छ।

मुक्तिनाथ केबुलकार परियोजनाको ईआईए प्रतिवेदन सार्वजनिक
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *