छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

गोडैता । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वमा मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पूजापाठको विधिपूर्वक आरम्भ गरिएको छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरू बेलुकी सूर्यदेवलाई अर्घ्य दिने परम्परा पालना गर्दैछन्। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीसम्म चल्ने यो सूर्य आराधनाको पर्व शनिबारदेखि देशभर उल्लासपूर्वक मनाइँदै आएको छ।

ऐतिहासिक ग्रन्थ महाभारत अनुसार द्रोपदी र पाँच पाण्डवले अज्ञातवासको सफलता र सूर्यदेवको कृपाका लागि छठ व्रत गरेका थिए। त्यसै समयदेखि यो पर्व मनाउने परम्परा चलनमा आएको जनविश्वास छ। सूर्य पुराण मा पनि अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य प्राप्त गरेको उल्लेख पाइन्छ, जसबाट यो पर्वको धार्मिक र सांस्कृतिक गहिरो महत्व प्रष्ट हुन्छ।

छठ पर्व सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ। सूर्यको ऊर्जा र किरणबिना पृथ्वीमा जीवन असम्भव हुने विश्वासमा आधारित यो पर्वले प्रकृति र मानवबीचको सहअस्तित्वको सन्देश दिन्छ। साम्व पुराण मा कृष्णपुत्र साम्बले सूर्यको आराधनाबाट कुष्ठरोग निको पाएको कथा यस पर्वको आध्यात्मिक प्रभाव दर्शाउँछ।

धार्मिक विश्वास अनुसार छठ व्रत गर्दा दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइन्छ। व्रतालुले झुप्पा–झुप्पा फलफूल, ठेकुवा, थेपला र नारिवल चढाएर सूर्यदेवको आराधना गर्छन्। आर्थिक अभाव भएका व्यक्तिहरूले पनि भिक्षा मागेर भए पनि यो पर्व मनाउने परम्परा कायम राखेका छन्। कार्तिक शुक्ल पञ्चमीका दिन ‘खरना’ गरी खीर चढाइन्छ र षष्ठीका दिन कठोर निर्जल व्रत बसिन्छ।

विसं २०४६ अघि सीमित रूपमा तराई क्षेत्रमा मनाइने छठ पर्व अहिले देशव्यापी उत्सवको रूपमा विकसित भएको छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा प्रदान गर्दै आएको छ। राजधानी काठमाडौंमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, विष्णुमती र वागमती किनारमा पूजास्थलहरू आकर्षक रूपमा सजाइएका छन्। सात्विक भोजन, चोखो आचरण र निष्ठा यस पर्वको विशेषता बनेका छन्, जसले नेपाली समाजमा पवित्रता र श्रद्धाको गहिरो प्रतीक प्रस्तुत गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *