सर्लाहीमा सर्पले टोकेको बिरामीलाई झारफुक गराउँदा एक जनाको मृत्यु

लालबन्दी । सर्लाही जिल्लाको कौडेना गाउँपालिका-२, फुलपरासी निवासी ४२ वर्षीया नयन देवी यादवको गोमन सर्पको टोकाइबाट मृत्यु भएको छ।

बुधबार राति करिब १२ बजे सर्पले टोकेपछि उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो।

आफन्तका अनुसार सर्पले टोकेलगत्तै नयन देवीलाई नजिकैको विषहरा बाबा मन्दिरमा लगिएको थियो। स्थानीय मान्यताअनुसार विषहरा बाबा मन्दिरमा लगेपछि सर्पको विष नलाग्ने विश्वासका कारण अस्पताल लैजान ढिलाइ भएको र यसै कारण उनको ज्यान गएको आफन्तले बताएका छन्।

यो घटनाले सर्पको टोकाइबाट बच्न र समयमै उचित उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने आवश्यकतालाई पुनः जोड दिएको छ।

धामीझाँक्री वा झारफुकको भर पर्दा ज्यान जोखिममा पर्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले सर्पले टोकेमा तत्काल नजिकको सर्पदंश उपचार केन्द्रमा जान आग्रह गरेका छन्।

जनचेतनाको अभाव र अन्धविश्वासका कारण यस्ता घटनाहरू दोहोरिन नदिन स्थानीय सरकार र स्वास्थ्य संस्थाहरूले थप प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *