काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणपछि नेतृत्व परिवर्तनको बहस गर्नु असमयिक र अनुचित भएको बताएका छन्। आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै उनले देउवाको उपचार अझै जारी रहेको अवस्थामा आन्तरिक विवाद र बहसले कांग्रेसलाई कमजोर बनाउन सक्ने चेतावनी दिए।
उनका अनुसार पार्टी सभापति लामो समयदेखि लोकतन्त्रका लागि संघर्षरत रहँदै आएका नेता हुन् र अहिलेको संवेदनशील परिस्थितिमा आन्तरिक विवादमा होइन, पार्टी एकतामा जोड दिनुपर्ने समय हो। उनले देउवाको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नहुँदै नेतृत्वको मुद्दा उठाइएकोप्रति आपत्ति जनाउँदै यसलाई ‘घाउमा नुन छर्ने काम’ भएको उल्लेख गरे।
महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नाम नलिइकनै नेतृत्व परिवर्तनको बहसलाई लक्षित गर्दै असन्तुष्टि प्रकट गरे। उनका अनुसार केही नेताहरूले जेन–जी आन्दोलनको चाहनाअनुसार पार्टी पुनर्संरचना गर्नुपर्ने भन्दै नेतृत्व फेर्नुपर्ने आवाज उठाए पनि अहिले त्यसको आवश्यकता नरहेको स्पष्ट संकेत उनले दिए।
उनले कांग्रेसलाई बलियो बनाउन विभाजनकारी प्रवृत्ति त्यागेर आन्तरिक कमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए। ‘चार दिनअघिसम्म सभापति देउवासँग निकटता देखाउनेहरूले नै अहिले प्रश्न उठाउनु अनौठो भएको’ भन्दै उनले तत्कालै नेतृत्व परिवर्तनको कुरा गर्नेहरू पार्टीको स्थायित्वमा खेलवाड गरिरहेको आरोप लगाए।
देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति सक्रिय रहेको भन्दै प्रवक्ता महतले कांग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा दृढ रहनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली सही बाटोमा नभएको स्मरण गर्दै कांग्रेसले निरन्तर आलोचना गर्दै आएको पनि स्पष्ट पारे। तर अहिले परिस्थितिको मूल्याङ्कन गरी सुधारतर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले भने, “अभिभावकमाथि प्रहार हुँदा उपचार पूरा हुन त पर्खनैपर्छ, नत्र यसले पार्टीलाई मजबुत बनाउने होइन, झन् कमजोर मात्र बनाउनेछ।”


