आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

लालबन्दी : काठमाडौंको पशुपति आर्यघाटमा जलाउँदै गरिएको शवको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानविहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

बिहीबार पक्राउ गरिएका ठाकुरको साथबाट प्रहरीले प्लास्टिकमा राखिएको हड्डी र खरानीको धुलो बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले यो सामग्री आर्यघाटमै जलाइएको शवबाट लिएको र खरिद गरेको स्वीकारेका छन्।

यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरिएको शवको हड्डी निकालेर ५ सय रुपैयाँमा बेचेको आरोपमा दुई जना पक्राउ परेका थिए। प्रहरीको भनाइ अनुसार, पछिल्लो पक्राउ परेका यी दुई जनाले त्यही हड्डी खरिद गरेका थिए।

काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा हड्डी निकालिएको थियो। शव जलाउने काम गर्दै आएका ढकाल नामका व्यक्ति २५ वर्षदेखि यस पेशामा संलग्न रहेको र प्रत्येक शव जलाएबापत १५ सय रुपैयाँ लिने गरेको पाइएको छ।

प्रहरी वृत्त गौशालाले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको छ। प्रहरीले यसलाई धार्मिक स्थल र संस्कारसँग जोडिएको संवेदनशील आपराधिक घटना मान्दै आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *