काठमाडौं । नेकपा ( एमाले ) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति तथा पार्टी नेतृ विद्या भण्डारीबीच पार्टीभित्र उत्पन्न मतभेदलाई विभाजन होइन, सहमति र समझदारीबाट समाधान गर्ने स्पष्ट समझदारी बनेको छ।
आज च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको वान–टु–वान छलफलमा दुई शीर्ष नेताहरूले आन्तरिक गुनासो तथा राजनीतिक दृष्टिकोणहरू खुला रूपमा राखेका थिए। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, दुवै नेताहरूबीचको वार्ता सकारात्मक ढंगले सम्पन्न भएको हो।
गौतमले भने, “अब कुनै पनि हालतमा एकले अर्कालाई निषेध गर्ने, वा अलग्गिएर अघि बढ्ने अवस्था नरहने सहमति बनेको छ। पार्टीभित्रका आगामी गतिविधिहरू सहमति र छलफलबाट अघि बढाइने निष्कर्षमा पुगेका छौं।”
दुवै नेताहरूबीच पार्टी विधान, महाधिवेशन तयारी, र राष्ट्रिय राजनीतिमा भइरहेका घटनाक्रमका बारेमा गहिरो छलफल भएको र दृष्टिकोणहरूमा समानता देखिएको गौतमले बताए। “राजनीतिले नै सम्बन्धलाई परिभाषित गर्छ, सम्बन्धले राजनीति तय गर्दैन,” भन्दै उनले आन्तरिक एकता कायम राख्दै सहमतिका आधारमा अघि बढ्ने नीतिमा एमाले दृढ रहेको संकेत गरे।
यस सहमतिको अर्थ पार्टीभित्र विद्यमान असहमति र असन्तुष्टिहरूलाई संविधान र संवादकै माध्यमबाट सम्बोधन गरिने नयाँ चरण सुरू भएको हो। पार्टी एकताको सन्देश बाहिर पठाउने सन्देश पनि यस छलफलले दिएको छ।


