काठमाडौँ, वैशाख ६ : काठमाडौंको वसन्तपुरमा आयोजित नेवाः राष्ट्रिय मुक्तिमोर्चाको खबरदारी सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भइरहेको प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गर्ने अठोट व्यक्त गर्नुभयो।
उहाँले धमिलो पानीमा माछा मार्ने कोसिस भइरहेको र त्यसलाई सफल हुन नदिइने दृढता प्रकट गर्नुभयो। सभामा अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा नेवार समुदायको ऐतिहासिक योगदानको उच्च प्रशंसा गर्दै, माओवादी आन्दोलनका मुद्दाहरूबाट पछि नहटिएको स्पष्ट पार्नुभयो। उहाँले नेवार समुदायको इतिहास, भाषा, संस्कृति र उत्पादन प्रणालीमै समाजवादको भ्रूण रहेको उल्लेख गर्दै, नेपाली विशेषताको समाजवादको यात्रा सुरु गर्न नेवार समुदायको अध्ययन अपरिहार्य रहेको बताउनुभयो।
उहाँले आफ्नो सरकारको पालामा नेपाल सम्वत् राष्ट्रिय सम्वत्का रूपमा घोषणा गर्नु, नेपाल भाषालाई सरकारी दस्तावेजमा प्रयोग गर्ने निर्णय गर्नु, तथा प्रदेश सरकारमार्फत नेवारी र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा मान्यता दिनेजस्ता निर्णयहरू माओवादी आन्दोलनको उपलब्धि भएको उल्लेख गर्नुभयो।
दाहालले नेवार समुदायको पहिचान, आत्मनिर्णयको अधिकार र सांस्कृतिक सम्पदाको रक्षा गर्न माओवादीले अग्रगामी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याउनुभयो।