काठमाडौं, चैत २५ : सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको पाँचौं गीत “फूल फूल्यो फक्रियो” सार्वजनिक भएको छ। गायिका तारा अधिकारीको स्वरमा सजिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने संगीत संयोजन संविन सुवेदीले गरेका छन्। सामाजिक विषयवस्तुमा कलम चलाउँदै आएकी र लामो समयदेखि संगीत साधनामा लागेकी अधिकारीको यो गीतले जीवनको बिचबिन्दुमा बाँचिएको प्रेम, स्मृति र संवेदनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
२०७२ सालमा एल्बम “किनारा” बाट सांगीतिक यात्रा सुरु गरेकी अधिकारीले दर्जन बढी गीतहरू सार्वजनिक गरेकी छन्। तर भाइरल बन्ने प्रतिस्पर्धामा नलाग्ने उनका गीतहरू गहिरा अर्थ र भाव बोकेको पाइन्छ। यसपटक पनि उनले लेखनमा देखिने मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई गीतमा समेत जस्ताको तस्तै उतारेकी छन्।
बिन्ध्यबासिनी म्युजिकको युट्युब च्यानलबाट बजारमा आएको गीतको भिडियोमा मोडल स्मारिका ढकाल र नव-नायक सागर खनालले अभिनय गरेका छन्। उनीहरूबीचको प्रेमिल सम्बन्धलाई जीवनको स्मृतिपटलमा गुम्सिएको कथाजस्तो देखाइएको छ। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका छन् भने छायांकन भूपेन्द्र थापा मगर र सम्पादन माधव बेलबासेले गरेका हुन्।
यो गीत राधिका अधिकारीको सिर्जनशीलताको अर्को सशक्त नमुना हो, जसले संगीतप्रेमी दर्शक–श्रोताहरूलाई भावनात्मक स्पर्श गर्नेछ।