काठमाडौँ, चैत १६ : काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ। प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाट जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्।
प्रहरीका अनुसार शुक्रबार १०५ जना पक्राउ परेका थिए भने शनिबार थप ६ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ प्रहरी परिसर, विभिन्न प्रहरी वृत्त र प्रभागहरूले संयुक्त रूपमा यी पक्राउ प्रक्रिया अगाडि बढाएका छन्। प्रहरी वृत्त बानेश्वर, गौशाला, सिंहदरबार, बालाजु, कोटेश्वर, गोङ्गबु लगायतका स्थानबाट प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो।
यस हिंसात्मक घटनामा दुई जनाको मृत्यु भएको छ भने नेपाल प्रहरीका ५५, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीका ५१ जना घाइते भएका छन्। तीमध्ये २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा व्यापक क्षति पुगेको छ। प्रहरीका अनुसार १८ स्थानमा तोडफोड, १२ स्थानमा आगजनी र एक ठाउँमा लुटपाट भएको छ। सरकारी कार्यालयका चारवटा भवन, विभिन्न निजी गाडी तथा मोटरसाइकल तोडफोड गरिएको छ भने केही गाडी जलाइएको छ।