काठमाडौं फागुन १७ : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा–१८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न जाँदै हुनुहुन्छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौंबाट सिधै सराङकोट धाम झर्ने तय भएको छ।
उहाँले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङ्ग तथा धाराहरूको समेत उद्घाटन गर्नुहुनेछ। समारोहमा राष्ट्रपति पौडेलसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
महाउत्सव शिवरात्रिदेखि जारी छ, जसको तेस्रो दिनसम्म ६५ लाख दान सङ्कलन भइसकेको छ। सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाएर संरचना निर्माण गरिरहेको छ। हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका मन्दिर र स्वागतद्वार बनिसकेको छ। यी संरचनाहरूमा ३५ करोडभन्दा बढी खर्च भइसकेको छ भने थप १५ करोडको संरचना निर्माण गर्ने योजना रहेको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभएको छ।
राष्ट्रपतिको आगमनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा अवस्थाको समीक्षा गरिसकेका छन्।