काठमाडौं, फागुन १४ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूमा योगदानभन्दा अवसर खोज्ने प्रवृत्ति हावी भइरहेको बताएका छन्। काठमाडौंमा आयोजित जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अवसरवाद र अराजकता ले राजनीतिक आन्दोलनलाई अवरुद्ध पार्ने धारणा व्यक्त गरे। महासचिव पोखरेलका अनुसार यी प्रवृत्तिहरूलाई परास्त गर्न विचारलाई बलियो बनाउनुपर्ने र संगठनलाई एकताबद्ध तथा अनुशासित राख्नुपर्ने आवश्यकता छ।
उनले नेपालमा पढेका मानिसहरू ठालु बन्ने र काम नगरेका मानिसहरूलाई श्रममा लगाउने गलत संस्कार विकसित भएको बताए। देशको द्रुत विकासका लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै, आधुनिक प्रविधि र यन्त्रहरूको उपयोग गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने सुझाव दिए। पोखरेलका अनुसार नेपालले आफ्नो भूगोलअनुसारको प्रविधि विकास गरेमा तीव्र आर्थिक उन्नति सम्भव छ।
उनले नेपालमा बचत गर्ने संस्कार कमजोर रहेको र कर तिर्ने प्रवृत्ति न्यून रहेको औंल्याए। देशको आर्थिक विकासका लागि राष्ट्रिय पुँजी निर्माण आवश्यक भएको उल्लेख गर्दै उनले विदेशी ऋण र अनुदानको उचित सदुपयोग नभएको आरोप लगाए। सरकार फेरबदल भइरहँदा नेपालले आवश्यक गति लिन नसकेको पोखरेलको भनाइ छ।
उनले नेपालमा साना दलहरूले ठूला दलहरूलाई घुर्क्याएर शासन गर्ने गलत संस्कार विकास भएको दाबी गरे। उनका अनुसार देशको आर्थिक संकट, सुशासनको चुनौती, र जनताको निराशा कम गर्नकै लागि अहिले ठूला दुई दलहरूबीच सहकार्य गरिएको हो। साथै, सरकारले हाल ल्याएका अध्यादेशहरू औचित्यका आधारमा आएको र नयाँ कानुन निर्माणमा पनि ध्यान दिइएको महासचिव पोखरेलले स्पष्ट पारे।