२७ माघ, काठमाडौं : चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङको बेनी–जोमसोम–कोरला सडकमा तीनवटा नयाँ मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङका अनुसार मार्फाखोला, छुसाङको नर्सिङ खोला, र चरा खोलामा गरी कुल रु ३१ करोड ७८ लाखको लागतमा पुलहरू निर्माण गरिएको हो।
आयोजनाका प्रमुख ध्रुवकुमार झाले यी तीन पुल निर्माणपछि अब सवारीसाधन सञ्चालन सहज भएको जानकारी दिए। मार्फाखोला (१२० मिटर) र छुसाङको नर्सिङ खोला (९० मिटर) पुलको निर्माण ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सन ले रु २१ करोड ६० लाख मा ठेक्का लिएर सम्पन्न गरेको थियो। त्यस्तै, चरा खोलामा ८० मिटर लामो पुल निर्माणका लागि २०७५ असार २९ गते काष्ठमाण्डप निर्माण सेवाले रु १० करोड १८ लाखको ठेक्का लिएको थियो।
पक्की पुल सञ्चालनमा आएपछि अस्थायी काठे पुल वा जोखिमपूर्ण नदी वारपारको समस्या समाधान भएको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्ट (राजु) ले बताए। पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकमा २४ पुल आवश्यक पर्नेमा हालसम्म १२ वटा निर्माण सम्पन्न, २ वटा निर्माणाधीन, ५ वटाको ठेक्का तोडिएको, र ५ वटाको निर्माण प्रक्रिया अघि बढिरहेको छ।
२०७३/०७४ देखि सुरु भएको सडक आयोजना हालसम्म ८४% भौतिक प्रगतिमा पुगेको छ। यी पुलहरूको निर्माणपछि मुस्ताङमा यातायात थप सहज भई व्यापार, पर्यटन र आवागमनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।