२४ माघ, काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका काण्डको छानबिनमा अवरोध पुर्याइएकोमा विरोध जनाएका छन्।
उनले प्रतिनिधि सभा बैठकमा भने, “मेरा नेतृत्वमा शुरु भएको भ्रष्टाचारको छानबिनमा अब अड्चन आयो।” प्रचण्डले केही महत्वपूर्ण भ्रष्टाचारका घटनाहरूमा अनुसन्धान रोकिएको भन्दै जनता बीच असन्तोष फैलिएको बताए।
उनले भने, “त्रिभुवन विश्वविद्यालयको जग्गा, ललिता निवासको विस्तृत अनुसन्धान, भुटानी शरणार्थी प्रकरण, अतिक्रमण गरिएका सरकारी जमिनका बारेमा अन्याय भएको छ।” प्रचण्डका अनुसार, यी सबै घटनाहरूको छानबिन अब रोकिएको छ र त्यसको असर कांग्रेस-एमाले गठबन्धनमा देखिएको छ।
अध्यक्ष प्रचण्डले सरकारको गलत कदमहरूको आलोचना गर्दै भने, “पछिल्ला सात महिनामा सरकारले जनताको आवाज सुनेको छैन, उल्टो जनतालाई कष्ट पुर्याएको छ।” उनले थपे, “समाजका सबै खालका भ्रष्टाचारका घटनाहरू अहिले ओझेलमा परेका छन्।” प्रचण्डका अनुसार, सरकारले अहिले भ्रष्टाचारका प्रकरणहरूको छानबिन नगरी मात्र आफ्नो स्वार्थलाई पूरा गरिरहेको छ।