काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै पेन्सन सुविधा दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन्।
सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायका जवानहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै यो ऐतिहासिक कदम उठाइएको बताएका हुन्।
‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरूको आवाजलाई समेटेर कानुन बनाइएको छ,’ उनले भने।
गृहमन्त्री लेखकले आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन र कानुनलाई सुधार गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरे। उनले थपे, ‘सशस्त्र प्रहरी जवानहरूको मागको सम्मान गर्दै १६ वर्षको सेवापछि पेन्सन सुविधा प्रदान गर्न कानुनमार्फत व्यवस्था गरिनेछ। यो कुरा राख्न पाउँदा मलाई खुशी लागेको छ।’
कार्यक्रममा उनले सुरक्षा निकायलाई थप सशक्त र सक्षम बनाउने कार्यमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट गरे।