काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत तस्बिर सार्वजनिक प्रकरणमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्। बिहीबार गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आदेश दिएको हो।
बुधबार साँझ सामाजिक सञ्जालमा हिरासतभित्रको तस्बिर भन्दै सार्वजनिक भएको घटनापछि गृहमन्त्रीले तत्काल यस विषयमा यथार्थ पत्ता लगाउन निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले भने, ‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आईजीपीलाई निर्देशन दिएको छु।’
यसैबीच, प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले तस्बिर सार्वजनिक प्रकरणमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रहरीका अनुसार अनुसन्धानबाट दोषीको पहिचान भएपछि आवश्यक कानूनी कारबाही अघि बढाइनेछ।