२ पुस, काठमाडौं । प्रधानमन्त्री ओली ले भ्रष्टाचार नियन्त्रणको लागि अपराधका आधारमा कारबाही हुने स्पष्ट पारेका छन्। मंगलबार ललितपुर महानगरको स्थापना दिवसका अवसरमा आयोजित सभामा सम्बोधन गर्दै उनले भ्रष्टहरूको मुख हेरेर नभई अपराध हेरेर मात्र कारबाही गरिने बताए।
‘देशलाई गरिबीबाट माथि उठाउनुछ। सुशासन दिनुछ। भ्रष्टाचार नियन्त्रण गर्नुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ। जनतालाई दुःख दिने काम जनप्रतिनिधि वा कर्मचारी कसैले गर्न पाउँदैन।’
प्रधानमन्त्री ओलीले कर्मचारी र जनप्रतिनिधिहरू जनताको सेवामा इमान्दार र तल्लिन हुनुपर्नेमा जोड दिए। ‘हामी जनताका सेवक हौं। हामीभित्र घमण्ड पलाउन हुँदैन,’ उनले भने। प्रधानमन्त्रीको यो भनाइले सुशासन र भ्रष्टाचार नियन्त्रणप्रति सरकारको प्रतिबद्धता झल्काउने विश्वास गरिएको छ।