चितवन । चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन्। चितवन त्रिशूली बस दुर्घटना हुदा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन्। घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि धाउँछन्। भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरी, नेपाली सेना, र नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्। तर, पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु केही भेट्न सकेको छैन। चन्द्रकिशोरले सरकारले भेटिने नभेटिने जे भन्छन् त्यही मानेर घर फर्किने निर्णयमा पुगिसकेका छन्।
घटनाको ११औं दिनसम्म खोज्दा त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ। बसको नामोनिशान भेटिएको छैन। बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन। त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ। सिमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भएपनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही पाउन सकेको छैन।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, भारत र नेपालका सुरक्षाकर्मीको टोलीसहित करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ। तर, तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना कम भइरहेको छ। तालिम प्राप्त टोली र प्रविधिसमेत हुँदा पनि तीन दिनदेखि केही नभेटिएपछि कति दिनसम्म खोजी गर्ने भन्ने प्रश्न उठ्न थालेको छ। हराइरहेका यात्रुका आफन्तले पनि अबको चार दिन अझै भारतीय टोलीसहित खोजी गर्ने र त्यसपछि मन्त्रालयसँग छलफल गरेरमात्रै निर्णय गर्न सकिने बताए।
असार २७ गते भरतपुर-२९ सिमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले गणपती यातायातको ३६ यात्रु बोकेको बस र एञ्जल डिलक्स यातायातको २६ यात्रु बोकेको बसलाई त्रिशूलीमा खसाएको थियो। गणपती यातायातमा सवार तीन जनाले त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए। बाँकी २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ। भेटिएका मध्ये दुई जनाको सोमबारसम्म पहिचान नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।