ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

सौर्य अनलाइन
२०८१ असार २७ गते १८:१५ मा प्रकाशित

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो ।

वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई बैंकको निक्षेप तर्फको बजार हिस्सा ८ दशमलव ८३ प्रतिशत हाराहारी रहेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले ग्राहकहरू र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै ग्लोबल आइएमई बैंकको ५०० अर्ब रुपैयाँ भन्दा बढि निक्षेप हुने विषय यस बैंकको मात्र सफलताको प्रतिबिम्ब नभई, नेपालको बैंकिङ क्षेत्रको बढ्दो विस्तार र गतिशीलताको संकेत रहेको बताए ।

उनले भने, ‘निक्षेप रकम ५ खर्ब रुपैयाँ पुग्नु हाम्रो लागि एक उल्लेखनीय उपलब्धि हो । यो उपलब्धि हामीले उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै हाम्रा ग्राहकहरूसँग सुमधुर सम्बन्ध स्थापना गर्न सफल रहेको प्रमाण हो । यसले हामीलाई भविष्यमा बैंकिङ क्षेत्रमा थप नयाँनयाँ प्रविधिहरु भित्र्याउँदै सबैका लागि उत्कृष्ट र विश्वासनीय बैंकिङ सेवाहरु प्रदान गर्न थप प्रेरणा दिनेछ ।’ ग्लोबल आइएमई बैंकका हाल ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *