संघीय राजधानी काठमाडौंलाई ६७ जिल्लासँग जोड्ने मुख्य मार्ग नागढुङ्गादेखि मुग्लिनसम्म सडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । सडक निर्माण भइरहँदा यात्रा झन्झटिलो त भइरहेको थियो नै, वर्षा सुरु भएसँगै यो सडकको यात्रा थप कष्टकर र पट्यारलाग्दो बन्न थालेको छ ।नागढुङ्गादेखि मुग्लिङ सडक विस्तार मा सुस्त गति।
काठमाडौंको नागढुङ्गादेखि धादिङको मलेखुसम्म ४५ किलोमिटर र मलेखुदेखि चितवनको मुग्लिङसम्म ३९ किलोमिटर सडक दुई खण्डमा बााडेर सडक विस्तारको काम भइरहेको छ । साँघुरो सडक त्यसमाथि पनि विस्तारका लागि ठाउँ-ठाउँमा भइरहेको कामले धेरै ठाउँमा सडक एकातर्फी भएको छ भने कतिपय स्थानमा भत्काएर छाडिएको सडक कच्ची सडक जस्तै बनेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलाम्य हुनु सामान्य जस्तै बनेको राजमार्गमा पछिल्लो समय सामान्य वर्षातमा पनि कतिपय स्थानमा सवारी साधन उक्लनसमेत नसक्दा लामो समयसम्म जाम हुने गरेको छ । घण्टौंसम्म जाममा बस्नुपर्छ ।
निर्माणका क्रममा सवारी आवागमनमा केही अप्ठ्यारो स्वाभाविकै हो । तर सामान्य बर्सातमा समेत लामो समय जाम बस्नु पर्दा सवारी प्रयोगकर्ताले भोग्ने सास्ती कम गर्ने उपायका बारेमा कसैले ध्यान दिएको देखिँदैन ।नागढुङ्गादेखि मुग्लिङ सडक सुस्त गतिम।
अहिले हरेक दिन राजमार्गमा यात्रा गर्ने झन्डै १३ हजार सवारीका डेढ लाख यात्रुले लामो जामको सामना गर्नु परेको छ । सडकको अवस्थाले ट्राफिक व्यवस्थापनसमेत कठिन देखिएको छ । यही अवस्था रहे मनसुनको समयमा थप समस्या आइपर्ने निश्चित छ ।
नौबिसे खण्डमा कालोपत्रेको काम सुरु भए पनि महादेव बेसी, गल्छी, आदमघाट, मलेखु खण्डमा कामको गति सुस्त छ । निर्माणको यो गतिले मनसुनअघि काम नसकिने अनुमान लगाउन गाह्रो छैन । त्यसैले यात्रुले झनै सास्ती खेप्नुपर्ने निश्चित छ ।


