News Summary
Generated by OK AI. Editorially reviewed.
- मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ।
- मुम्बईले १८.४ ओभरमा २२९ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गरेको छ।
- रोहित शर्माले ८४ र रायन रिकेल्टनले ८३ रन बनाए, पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरे।
२१ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा तेस्रो जित हासिल गरेको छ । सोमबार भएको खेलमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।
लखनउले दिएको २२९ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर रोहित शर्मा र रायन रिकेल्टनले शानदार ब्याटिङ गरे ।
रोहितले ४४ बलमा ८४ रन तथा रिकेल्टनले ३२ बलमा ८३ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेका थिए । नमन धिर २३ रनमा अविजित रहे ।
लखनउका मनिमरन सिद्धार्थले २ विकेट लिँदा मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो । सुरुवाती १० ओभरमा १ विकेट गुमाएर १४१ रन बनाएको भएपनि त्यसपछिको १० ओभरमा लखनउले अपेक्षित रन बनाउन सकेन । यद्यपी बलियो योगफल भने खडा गर्यो ।
निकोलस पूरनले सर्वाधिक ६३ रन बनाए । २१ बल खेलेका उनले १ चौका र ८ छक्का प्रहार गरे । पूरनले १६ बलमा अर्धशतक पूरा गरेका थिए । मिचेल मार्शले ४४ तथा एइडेन मार्क्रमले अविजित ३१ रन बनाए ।
मुम्बईका कर्बिन बोशले २ विकेट लिँदा रघु शर्मा र विल ज्याक्सले १-१ विकेट लिए ।
यो जितसँगै १० खेलमा ६ अंक जोडेको मुम्बई नवौं स्थानमा यथावत् छ भने ९ खेलमा ४ अंक भएको लखनउ १०औं स्थानमा छ ।


