रुम्जाटार आसपासमै ‘पूर्ण बहादुरको सारङ्गी’को ३६ दिन

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो ।

गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशैपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।

फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए ।

उनले भने, ‘वर्षातको समयमा घाम पानी नभनी धेरै दुख गरेर पहिलो चरणको सेड्युल पुरा गरियो, यो फिल्मका लागि स्कृप्टको चरण देखिनै मेहनत गरेर आफैँ सेटमा ३६ दिनसम्म खटिएर काम गरियो, फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतमा कुनै कुराको कमी नगरी भनेकै समयमा छायांकन गर्न पाइयो, फिल्म मेकिङ बारे नयाँ अनुभव भयो त्यसकारण पनि फिल्मले हामी सबैलाई नयाँ उचाइ दिनेमा विश्वस्त छु ।’

कलाकारहरूको बलियो लाइनअप रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ । निर्माण टिमले फिल्मलाई विंसं २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *