किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै गणेश

पाँचथरको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले आमाको काजक्रिया बसिरहेको बेला पनि सेवाग्राहीका कामकाज गरिरहेका छन्।

आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् र जनताको सेवामा समस्या नपरोस् भन्ने ध्येयले किरिया बसेकै ठाँउबाटै काम गरिरहेका हुन्।

उनकी आमा आमा मेनकादेवीको निधन भएको आइतबार पाँच दिन पुगेको छ। उनले भने, “काजक्रिया र सुत्केरी समयमा कानुनले बिदा दिएकै हो, तर सेवाग्राहीले दुःख पाएको हेर्न मन लागेन।”

उनले सेवाग्राहीले काम सकेर भुक्तानी पाउनुपर्ने अवधिमा काजक्रिया बारेर बस्छु भन्न नैतिक रुपले त्यति उचित नहुने देखेर काजक्रियाकै अवधिमा पनि सेवाग्राहीको काम गरिरहेकाे बताए।

सामान्यतया असार २४ मध्यराति देखि सरकारी चेक काट्ने प्रक्रिया लगभग बन्द हुने गर्छ। अधिकारीले कुम्मायकका कर्मचारीलाई भुक्तानी प्रक्रियामा रहेका सबै कागजातको लिखित दस्तावेज ल्याउन आग्रह गरेका थिए।

आइतबार उनले काजक्रिया बसिरहेका बेलामा पनि सम्बन्धित कर्मचारी साथीहरुलाई सबै फायल लिएर आउन भनेका थिए र प्रक्रियामा रहेका कामकाजको भुक्तानी सदर गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, “मैले सम्बन्धित कर्मचारी साथीहरुलाई प्रक्रियामा रहेका सबै फायल लिएर आउन भनेको थिएँ। प्रक्रियामा पुगेका कामकाजको भुक्तानी सदर गरेको छु।”

उनले सेवाग्राहीका काममा आमा गुमाएको पींडा समेत बिर्सिएर काम गर्न अग्रसर भएको बताए। भुक्तानी प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको दस्तखत अनिवार्य रहेको छ।

यस वर्षको बजेटबाट प्राप्त योजना तथा कार्यक्रमको भुक्तानी असार २४ अगावै नलिए फ्रिज हुने भएकाले काम र प्रक्रिया पूरा भएका कार्यक्रम तथा योजनाको भुक्तानी रोक्न नहुने ठम्याई सहित आमाको मृत्युको शोकमा परेका बेला पनि काम गरिरहेको अधिकारीले बताए।

प्रकाशित: २३ असार २०८१ २१:२० आइतबार

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *