सर्लाही । सर्लाही बरहथवा नगरपालिका–१० सितापुरमा स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको भारत नम्बर प्लेट डीएल-९-सीजेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका मानिसहरूलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी बरहथवा नगरपालिका–९ बस्ने करिब ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले राति करिब ८ बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेल टाउकोमा गम्भीर चोट लागेर हनुमन्त अस्पताल बरहथवामा उपचाररत छन्। त्यस्तै रौतहट गढीमाई नगरपालिका–११ बस्ने बन्धना पटेल बेहोस अवस्थामा सोही अस्पतालमा उपचार गराइरहेकी छन्। बरहथवा नगरपालिका–१० का रुपेश मण्डल बाँया हातमा चोट लागेर उपचाररत छन्।
यसैगरी सोही स्थानका प्रतिमा कुमारी पटेल कम्मरमा चोट लागेर नगर अस्पताल बरहथवामा उपचाररत छन् भने दिलीप राय दुबै खुट्टा र कम्मरमा चोट लागेर सोही अस्पतालमा उपचार भइरहेको छ। बरहथवा–७ का चन्दन पासवान शरीरका विभिन्न भागमा चोट लागेर नगर अस्पतालमा उपचार गराइरहेका छन्।
दुर्घटनामा घाइते भएका सितापुरका दिपिका जैसवाल दुवै हातमा चोट लागेर एडभान्स अस्पताल बरहथवामा उपचाररत छन्। त्यस्तै रामजी राय टाउकोमा चोट लागेर सोही अस्पतालमा उपचार गरिरहेका छन् भने मुकेश राउतको हात र खुट्टामा चोट लागेकाले उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी रामनारायण ठाकुर दाहिने हातमा चोट लागेर हनुमन्त अस्पतालमा उपचाररत छन् भने उनकी श्रीमती गुलाब कुमारी मण्डल दाहिने खुट्टामा चोट लागेर उपचार गराइरहेकी छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक धर्बेन्द्र साहको कमाण्डमा आठ जना र इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक नितेश जर्गा मगरको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठ बस्ने करिब ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बरहथवामा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


