३१ असोज, सिड्नी । अस्ट्रेलिया सरकारले आगामी डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकाका लागि फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स र युट्युबजस्ता सामाजिक सञ्जाल मा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो नियम लागू भएपछि सो उमेर समूहका प्रयोगकर्ताहरूले नयाँ खाता खोल्न वा विद्यमान खाता सञ्चालन गर्न पाउने छैनन्। सरकारका अनुसार यो पहलले किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालका हानिकारक प्रभावबाट जोगाउने उद्देश्य लिएको हो।
बीबीसीका अनुसार, लाखौं अनलाइन फलोअर्स भएको ‘एम्पायर फेमिली’ नामक अस्ट्रेलियाली परिवारले यो प्रतिबन्धका कारण बेलायत सर्ने निर्णय गरेको छ। परिवारमा आमाहरू बेक र बेक ली, १७ वर्षीय छोरा प्रेज्ली र १४ वर्षीया छोरी चार्लोट रहेका छन्। उनीहरूले दैनिक जीवनका भिडियो पोस्ट गरेर विश्वभर लाखौं दर्शक कमाएका छन्। परिवारका सदस्यहरूले भनेका छन्, बेलायतमा सरेर उनीहरूले आफ्नी छोरीलाई कन्टेन्ट क्रिएसन जारी राख्न सहयोग गर्न खोजेका हुन्।
अस्ट्रेलियाले विश्वमै पहिलो पटक यस्तो कठोर नियम लागू गर्न लागेको हो। सरकारले उमेर प्रमाणीकरणका लागि अनुहार पहिचान प्रविधि (Facial Recognition Technology) र अभिभावकीय स्वीकृतिजस्ता उपायहरू प्रयोग गर्न सकिने बताएको छ। यद्यपि, यसले व्यक्तिगत गोपनीयता र डाटा सुरक्षासम्बन्धी गम्भीर चिन्ता पनि जन्माएको छ।
सरकारका अनुसार यो नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलरसम्म जरिवाना लगाइनेछ। सुरुमा युट्युबलाई यस प्रतिबन्धबाट छुट दिइएको भए पनि पछिल्लो निर्णयमा त्यो पनि समावेश गरिएको छ। नयाँ नियम लागू भएपछि १६ वर्षमुनिका किशोरकिशोरीहरूले भिडियो हेर्न त पाउनेछन् तर खाता खोली सामग्री अपलोड गर्न वा अन्तक्र्रिया गर्न सक्ने छैनन्।
लन्डन सर्ने तयारीमा रहेको बेक परिवारका सदस्यहरूले भने, उनीहरू प्रतिबन्धको विरोधमा नभई इन्टरनेटको सदुपयोगमा विश्वास गर्ने पक्षमा छन्। बेकले भिडियो सन्देशमार्फत भनिन्, “हामी बुझ्छौं कि यो नियमले बालबालिकालाई इन्टरनेटका हानिबाट जोगाउँछ, तर हामी इन्टरनेटलाई सकारात्मक प्रभावका लागि प्रयोग गर्छौं।” अस्ट्रेलियाको यो कदमपछि अन्य मुलुकहरूमा पनि यस्तै कानुनी पहलको चर्चा सुरु भएको छ।


