२४ असोज, काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा नेताहरूबीच महेश बस्नेतको प्रसङ्गमा तिखा टिप्पणी, सवाल–जवाफ र कटाक्ष भएको छ। केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने उद्देश्यसहित शनिबार सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बस्नेतको खुला रूपमा प्रशंसा गर्दै उनको साहस र समर्पणको बचाउ गरेका थिए।
अध्यक्ष ओलीले भने, “अप्ठ्यारो र संकटका बेला अरू धेरै नबोल्ने रहेछन्, पार्टीभित्र बहादुर त महेश बस्नेत नै रहेछन्,” भन्दै बस्नेतको पक्षमा बोलेका थिए। बस्नेतले जेन–जी आन्दोलनपछिका संवेदनशील समयमा ओलीका लागि गुन्डुमा अस्थायी बासको व्यवस्था गरेका थिए, जसका कारण ओली अहिले त्यही घरबाट राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन्।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महेश बस्नेतको विवादास्पद भूमिकाबारे प्रश्न उठाएपछि ओलीले तुरुन्त प्रतिवाद गरेका थिए। यसपछि सचिवालयमा वातावरण केही तनावग्रस्त बनेको थियो। बैठकमा नेताहरूबीच आन्तरिक प्रतिस्पर्धा र समूहगत असन्तुष्टिका संकेतहरू पनि झल्किएका थिए।
त्यही क्रममा महासचिव शंकर पोखरेलले कार्यकर्तामाझ निराशा नरहेको दाबी गरेपछि उपाध्यक्ष विष्णु पौडेलले कटाक्ष गरेका थिए। पौडेलले भने, “सधैं ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थितिको मूल्यांकन हुँदैन, तलको स्थिति भनेजस्तो छैन,” भन्दै कार्यकर्ता पंक्तिमा ठूलो निराशा रहेको बताए।
पोखरेलको प्रस्तुतिप्रति पौडेलको टिप्पणीले बैठकमा थप वाकयुद्ध जन्माएको थियो। पोखरेलले त्यसबारे प्रतिक्रिया दिँदै एमालेले प्रतिगमनको विरोध गरेर पुनः आफ्नो राजनीतिक सन्तुलन स्थापित गर्न सफल भएको बताए। उनका अनुसार, पार्टीभित्रका केही असन्तुष्ट धारा र आलोचनात्मक स्वरहरू लोकतान्त्रिक अभ्यासकै हिस्सा हुन्, तर संगठनभित्र नेतृत्वमा विश्वास कायम रहेको छ।


