विष्णुप्रसाद जोशी बने काठमाडौं महानगर प्रहरी प्रमुख

विष्णुप्रसाद जोशी बने काठमाडौं महानगर प्रहरी प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले सम्हालेका छन्। यसअघिका प्रमुख एसएसपी राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएपछि वरिष्ठताका आधारमा जोशी नगर प्रहरी प्रमुख बनेका हुन्। राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा कमान्ड सम्हालेर कार्यभार ग्रहण गरेका छन्।

राजुनाथ पाण्डेले राजनीतिमा सक्रिय हुने तयारीसहित हिजोको मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगै पाण्डेले पनि राजीनामा दिएपछि नगर प्रहरी नेतृत्व परिवर्तन भएको हो। पाण्डेको बहिर्गमनसँगै महानगर प्रहरीको जिम्मेवारी जोशीको काँधमा आएको छ।

नव नियुक्त प्रमुख जोशी यसअघि पनि काठमाडौं महानगरपालिकामा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्। उनले विपद् व्यवस्थापन प्रमुख र मध्यक्षेत्र कमान्ड प्रमुखको भूमिकामा काम गर्दै प्रशासनिक तथा फाँटगत अनुभव बटुलेका थिए। संकट र व्यवस्थापनका विषयमा उनको अनुभवलाई महत्वपूर्ण मानिएको छ।

यसअघि तत्कालीन एसएसपी राजुनाथ पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गर्दा पनि जोशीले निमित्त प्रमुखको रूपमा नगर प्रहरी बलको नेतृत्व सम्हालेका थिए। सो समयमा उनले संगठन सञ्चालन र व्यवस्थापनमा देखाएको कार्यक्षमताले उनलाई नेतृत्वका लागि उपयुक्त मानिएको बताइन्छ।

अब औपचारिक रूपमा नगर प्रहरी प्रमुख बनेका जोशीले महानगरको सुरक्षा, अनुशासन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सार्वजनिक सेवा प्रवाह, ट्राफिक व्यवस्थापन र नगर अनुशासनका विषयमा उनले कस्तो कार्यदिशा अपनाउँछन् भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *