सप्तरी । सप्तरीमा प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र १८ वर्षीय धिरज प्रसाई रहेका छन्। उनीहरू सवार पिकअप गाडीबाट प्रहरीले आइतबार राति चेकजाँचका क्रममा २३ लाख नगदसहित नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको टोलीले सुरूङगा नगरपालिका–२ भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा बा.प्रदेश ०१–०२८ च ५००८ नम्बरको पिकअप गाडी रोकेर जाँच गरेको थियो। सो क्रममा नगदसहित विभिन्न इलेक्ट्रोनिक सामग्री फेला परेको प्रहरीले जनाएको छ।
गाडीभित्रबाट १०० थान टेकोन पम्प, ३४ थान टीएनइएच ब्याट्री, एक लिथियन ब्याट्री, तीन ई–रिक्सा मोटर, सात स्कुटर ब्याट्री चार्जर, एक ब्याट्री टेस्टर र एक हर्न स्पिकर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
स्रोत नखुलेको उक्त रकम र सामग्रीबारे प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान थालेको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार, पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको छ।
प्रहरीले उक्त रकम र सामग्रीको स्रोत पत्ता लगाउने कार्य जारी राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले रकमको स्पष्ट विवरण दिन नसकेको र उनीहरूका गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पुरीले बताए।


