काठमाडौँ । इन्जुरी टाइम मा चेम्सडाइन तल्बीले गरेको निर्णायक गोलको मद्दतमा सण्डरल्याण्डले इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि २–१ को नाटकीय पुनरागमन जित दर्ता गरेको छ। घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सण्डरल्याण्डले सुरुवाती गोल खाँदै पनि अन्त्यमा जित निकाल्न सफल भयो।
खेलको चौथो मिनेटमै अलेजान्द्रो गार्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। घरेलु दर्शकको उत्साहबीच चेल्सीले पहिलो हाफमा बल पोजेसनमा नियन्त्रण जमाए पनि अग्रता कायम राख्न सकेन। खेलको २२औं मिनेटमा विल्सन इसिडोरले सण्डरल्याण्डका लागि बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा पुनः फर्काए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न असफल भए। निर्धारित ९० मिनेट सकिँदै खेल बराबरीमा सकिने अनुमान भइरहँदा ६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा मैदान प्रवेश गरेका तल्बीले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे।
तल्बीको उक्त गोलसँगै सण्डरल्याण्डले अप्रत्याशित रूपमा ३ अंक जोड्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। ९ खेलबाट १७ अंकका साथ सण्डरल्याण्ड आर्सनल (१९ अंक) भन्दा दुई अंकले पछाडि रहेको छ।
चेल्सीले भने यो हारसँगै दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। ९ खेलबाट १४ अंकमा सीमित रहँदै चेल्सी अहिले चौथो स्थानमा छ। खेलमा अन्त्यसम्म लडाइँ गरे पनि रक्षा कमजोरीका कारण चेल्सीलाई हार स्विकार्नुपर्यो।


