५ कात्तिक, रसुवा । नेपाल–चीनबीचको ल्हेन्दे खोलामा रहेको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बेलिब्रिजका आवश्यक पार्टपुर्जा जडान र पिलर निर्माणको काम सम्पन्न भइसकेको छ। गत असार २४ गते आएको बाढीले पुरानो पक्की मोटरेबल पुल बगाएपछि चीन सरकारले पुनर्निर्माणमा सहयोग गरेको हो।
पुलको वारीपारीको जडान लगभग सकिँदै जाँदा बीच भाग केही लच्किएपछि थप मजबुत बनाउन चिनियाँ प्राविधिक टोलीले खोलाको बीच भागमा अतिरिक्त पिलर निर्माण थालेको छ। यसले पुलको संरचनालाई थप सुरक्षित बनाउने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार कामको गति हेर्दा कात्तिक १५ गतेसम्म मितेरी पुल सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ, यद्यपि औपचारिक मिति भने चिनियाँ पक्षबाट आइसकेको छैन। पुल सञ्चालनमा आएपछि व्यापार व्यवसाय सहज हुनेमा स्थानीय व्यवसायी आशावादी देखिएका छन्।
पुल निर्माण पूरा भएसँगै मालसामान आयात सुरु हुने भएकाले भन्सार प्रक्रिया छिटोछरितो बनाउन तयारी गरिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिएका छन्।


