नेपाल संवत् ११४६ को अवसरमा न्हूदँ मूल समारोह समितिको आयोजनामा सम्पन्न दुई दिने खुल्ला चेस प्रतियोगितामा अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोन प्रथम भएका छन्। २५४१ रेटेड स्मेरडोनले ९ चरणको फिडे रापिड प्रतिस्पर्धामा सात जित र दुई बराबरी निकाल्दै कुल ८ अंक जोडेर उपाधि हात पारेका हुन्।
स्मेरडोनले चौंथो नेपालभाषा मंकाः खलः फिडे रापिड प्रतियोगिता जित्दै नगद १० हजार रुपैयाँ, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे। विश्वस्तरका अनुभवी खेलाडी स्मेरडोनको प्रदर्शन प्रतियोगिताभर नै प्रभावशाली देखिएको थियो।
प्रतियोगितामा तीन खेलाडीले समान ७ अंक जोडे पनि टाइब्रेकका आधारमा क्याण्डिडेट मास्टर पुरुषोत्तम सिलवाल दोस्रो स्थानमा रहे। उनले नगद ७ हजार रुपैयाँ र सिल्भर मेडल प्राप्त गरे। रसियामा सुपर ग्रान्डमास्टरलाई पराजित गरिसकेका सिलवालले यहाँ पनि उच्चस्तरीय खेल प्रस्तुत गरे।
१९९१ रेटेड निकेन कुसाथा तेस्रो स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ र ब्रोन्ज मेडल जित्न सफल भए। यसैगरी दोलखाका सुमन मोक्तान चौथो भए भने सुरोज महर्जन, प्रेम खड्का, नवीन तण्डुकार, रचित राज लम्साल र अभिषेक श्रेष्ठले विभिन्न स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरे। महिला प्रतिस्पर्धामा ग्लोसि श्रेष्ठ प्रथम भइन्।
नेपाल, भारत र अष्ट्रेलियाका गरी ७८ खेलाडी सहभागी रहेको प्रतियोगिताको समापन समारोह ललितपुरमा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका डिन माणिक रत्न शाक्यले आगामी दिनमा लुम्बिनीमा पनि बुद्धिचाल प्रतियोगिता आयोजना गरिने जानकारी दिएका छन्।


