लालबन्दी : सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ एक सिटी सफारी चालकको गोली हानेर हत्या गरिएको छ।
हत्या हुनेमा सोही स्थानका ४७ वर्षीय दिनेशकुमार चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ। चौधरी सिटी सफारी चालकका रूपमा कार्यरत थिए।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीनजनाको समूहले चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। गोली हानेपछि ती तीन जना फरार भएका छन्। घटनामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले साँझ करिब साढे पाँच बजे प्रहरीलाई घटनाबारे जानकारी आएको बताए।
‘मानिस रक्ताम्य अवस्थामा सडकमा ढलेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको हो,’ निरीक्षक दाहालले भने, ‘गोली हानिएको वा अन्य कारणले मृत्यु भएको भन्नेबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ।’
मृतक चौधरीको शव कानुनी प्रक्रिया पूरा गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुलेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको र सुनसरीका विभिन्न क्षेत्रमा निगरानी बढाइएको जनाएको छ।


