डेंगु संक्रमणको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

डेंगु संक्रमणको जोखिम बढ्यो, सतर्कता अपनाउन आग्रह

सलाही : डेंगु एक प्रकारको भाइरल रोग हो जुन एडिस एजिप्टाई वा एडिस अल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ र विशेष गरी मनसुनको समयमा तीव्र रूपमा फैलिन्छ।

यो रोग कोभिडजस्तै एक व्यक्तिबाट सिधै सर्दैन, बरु लामखुट्टे मार्फत एक संक्रमितबाट अर्कोमा फैलिन्छ। एडिस लामखुट्टे विशेष गरी बिहान र साँझको समयमा सक्रिय रहन्छन् र सफा, स्थिर पानीमा सजिलै प्रजनन् गर्न सक्ने हुँदा डेंगु नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ।

अनुसन्धान अनुसार २५–३० डिग्री सेल्सियस तापक्रम डेंगु फैलन अनुकूल मानिन्छ, विशेषतः वर्षायामपछि जमेको पानीमा प्रजनन तीव्र हुने हुँदा डेंगुको जोखिम अझ बढ्छ। डेंगु संक्रमणका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, छालामा दाग देखिने, वाकवाकी, रगत बग्ने आदि पर्दछन् र यी लक्षण देखिए तुरुन्तै चिकित्सकीय सल्लाह लिनुपर्छ। डेंगु भाइरसका डेन-१ देखि डेन-४ सम्म चार सिरोटाइप हुन्छन् र जीवनमा चारपटकसम्म डेंगु लाग्न सक्ने सम्भावना रहन्छ।

डेंगुबाट बच्न लामो बाहुला लगाउने, झुल हालेर सुत्ने, लामखुट्टे नाशक प्रयोग गर्ने, र पानी जम्ने स्थान हटाउने जस्ता उपायहरू अत्यावश्यक छन्। डेंगुको उपचार विशेष छैन तर प्रारम्भिक सल्लाह र झोल पदार्थ सेवनले सुधार ल्याउन सक्छ। समुदायस्तरमा सर्तकता अपनाई यो रोगको फैलावट रोकिन सक्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *