पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान

काठमाडौँ, चैत ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई जर्मनीको बर्लिनमा हिमालयन क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको छ।

बर्लिनमा आयोजित ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसन समिट–२०२५’ को अवसरमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) द्वारा मन्त्री पाण्डेलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।

सन् १९९९ देखि ITB बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका मुलुकका पर्यटनमन्त्रीहरूलाई दिइन्छ। बर्लिनमा सहभागी पर्यटन व्यवसायीहरूका अनुसार, यो अवार्ड नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा योजनाहरूको अन्तर्राष्ट्रिय मान्यता हो।

नेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा गौरव गर्ने अवसर पाएकोमा मन्त्री पाण्डेले हर्ष व्यक्त गर्दै, यसलाई व्यक्तिगत भन्दा पनि नेपालकै उपलब्धि भएको बताए। “यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्रको सम्मान हो। नवप्रवर्तन, सामुदायिक सहभागिता र दृढताका आधारमा नेपाली पर्यटन अघि बढ्दै आएको छ। यस अवार्डले अझ दिगो र समावेशी पर्यटन विकास गर्न प्रेरणा मिलेको छ,” मन्त्री पाण्डेले भने।

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (AI) को पर्यटन क्षेत्रमा प्रभावबारे चर्चा गर्दै भने, “प्रविधिलाई समुदाय-आधारित पर्यटनसँग सन्तुलनमा राख्दै नेपालको मौलिकता जोगाउनु हाम्रो मुख्य लक्ष्य हुनेछ।” साथै, हरित पूर्वाधारमा लगानी बढाउँदै वातावरणमैत्री आतिथ्य अभ्यासलाई प्रवर्द्धन गर्ने योजना रहेको जानकारी दिए।

यसअघि मन्त्री पाण्डेले ITB मिनिस्टर्स समिट–२०२५ मा पनि सहभागिता जनाएका थिए। ‘लगानी वृद्धि, शान्ति सुनिश्चितता: विकासको उपयोग, भविष्य निर्माण’ विषयक उक्त सम्मेलनमा उनले नेपालमा पर्यटनलाई दिगो रूपमा अघि बढाउने रणनीति प्रस्तुत गरेका थिए।

नेपालको पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनुले नेपाललाई आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र लगानीकर्ताहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *