राष्ट्र निर्माणका लागि समर्पित हुन राष्ट्रपति पौडेलको अपिल

राष्ट्र निर्माणका लागि समर्पित हुन राष्ट्रपति पौडेलको अपिल

काठमाडौं, फागुन १७ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि र जनताको हितका लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ। फागुन १७ गते पोखरामा आयोजित श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ तथा देवालय सराङकोट धाम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको संघर्ष, त्याग, र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता आर्थिक समृद्धिमा निर्भर रहने स्पष्ट पार्नुभयो।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको विदेश पलायनलाई गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै सम्बद्ध सबै निकायलाई यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दा, र पूर्वाधारको विकासलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभयो। साथै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई आफ्नै भूमिमा रोक्न सरकार तथा नीति निर्माता गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

पोखराको पर्यटन सम्भावनालाई उजागर गर्दै राष्ट्रपति पौडेलले यसको प्राकृतिक सौन्दर्य, संस्कृति, र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको महत्व उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धन, मेला महोत्सव, र साहसिक गतिविधिहरूले पोखरालाई विश्वकै आकर्षक गन्तव्य बनाउँदै लगेको धारणा व्यक्त गर्नुभयो

उहाँले नीति निर्माताहरू, सरकारका तीन तह, पर्यटन उद्यमी, व्यवसायी, तथा स्थानीयवासीहरूलाई पोखरालाई आधुनिक, विकसित, र सुविधासम्पन्न बनाउन पूर्ण रूपमा समर्पित हुन आह्वान गर्नुभयो। साथै, निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले उपयुक्त नीति तथा नियम बनाउनु आवश्यक रहेको उहाँको धारणा थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *