काठमाडौं, फागुन १५ : खानेपानीमन्त्री प्रदीप यादव ले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै यसलाई नाफामूलक बनाउने रणनीतिमा गम्भीर हुनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाल खानेपानी संस्थानको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले घाटामा रहेको संस्थानलाई नाफामा ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे।
पाइप फुट्ने, फोहोर पानी आउनेजस्ता समस्याले नागरिकहरू मर्कामा परिरहेको भन्दै उनले यस्ता समस्या तत्काल समाधान गर्न निर्देशन दिए। कल सेन्टर स्थापना गरेर भए पनि जनताको गुनासो तत्काल समाधान गर्ने व्यवस्था गर्न उनले संस्थानलाई आग्रह गरे। साथै, सरकारले निर्माण गरेका खानेपानी ट्याङ्कीहरूमा ‘नेपाल सरकार, खानेपानी मन्त्रालय’ स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने निर्देशन समेत दिए।
मन्त्री यादवका अनुसार खानेपानी संस्थानलाई नाफामूलक बनाउन नयाँ ‘गेम चेन्जर’ कार्यक्रमहरू ल्याउनुपर्ने छ। उनले जायज कामहरूका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै संस्थानलाई कोमाबाट बाहिर निकाल्न पहल गरिने बताए।