सर्लाही, फागुन ११ : सर्लाही जिल्लामा जंगली हात्तीको आतंक अझै पनि रोकिएको छैन। लालबन्दी र ईश्वरपुर नगरपालिकामा चार दिनदेखि निरन्तर रुपमा तीनवटा जंगली हात्तीले आतंक मच्चाइरहेका थिए, जुन अहिले पश्चिम सरेका छन्। इलाका प्रहरी कार्यालय हरिवनका अनुसार शनिबार राति र आइतबार बिहान हरिवन तथा बागमती नगरपालिकाका विभिन्न भागमा हात्तीको समूहले घरको बार भत्काउनुका साथै बालीनालीमा ठूलो क्षति पुर्याएको छ।
बागमती नगरपालिका-३ धरहरास्थित बाबुलाल स्याङ्तानको घरमा हात्तीले बाँसको बार तोडेर दुई क्विन्टल चामल खाएको छ। त्यसैगरी, पीडितहरू रामबहादुर थिङ, धनबहादुर दोङ, र लक्ष्मण योन्जनको मकै बाली, दुई केराको बोट, र अन्य बालीनाली नष्ट गरेका छन्। शनिबार राति हरिवन नगरपालिका-६ चार्ली टोलका डिल्लीप्रसाद उप्रेतीको तीन एकड मकै तथा १५ केराका बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन एकड मकै र २० केराका बोट, र मीनप्रसाद उप्रेतीको पाँच एकड मकै तथा १० केराका बोट तहसनहस पारेको छ।
पहिले रातमा मात्र देखिने जंगली हात्तीहरू आइतबार दिउँसो पनि बस्ती नजिकै देखिएका छन्। हरिवन र बागमती नगरपालिकाको जंगल नजिकै तीनवटा पोथी जंगली हात्ती घुमिरहेको देखिएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
लालबन्दी नगरपालिका-१७ रानीगञ्जका शिवहरि गौतमले यस वर्ष सुरु गरेको व्यावसायिक केरा खेतीमा पनि जंगली हात्तीले ठूलो क्षति पुर्याएको गुनासो पोख्नु भएको छ। उनले २५० भन्दा बढी केराका बोट नष्ट गरेको गुनासो गरेका छन्। यस्तै, ईश्वरपुर नगरपालिका-१३ धापातोलमा धनमाया तामाङको घर हात्तीले भत्काइदिएपछि घरभित्रको अन्न समेत खाइदिएको छ।
जंगली हात्तीहरूको निरन्तर आक्रमणले जिल्लावासी त्रसित छन्। डिभिजन वन कार्यालय, सर्लाहीले वन क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन र हात्तीलाई प्राकृतिक वासस्थान फर्किन बाधा नपुर्याउन अनुरोध गरेको छ। वन प्रमुख सन्तोष झाले घर तथा बालीनालीमा क्षति पुगेका पीडितहरूले प्रक्रिया पूरा गरी निवेदन दिएपछि क्षतिपूर्ति प्रदान गरिने बताएका छन्।