काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सरकारबाट कहिल्यै मिचिँदैन भन्ने स्पष्ट पारेका छन्।
शुक्रबार ईश्वरलाल प्रतिष्ठान द्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अभिव्यक्ति स्वतन्त्रताको विषयमा धारणा राखेका हुन्।
प्रधानमन्त्री ओलीले विगतमा आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध संघर्ष गरेर आएको स्मरण गर्दै सरकारबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै कार्य नहुने बताए। उनले केही समूहले सामाजिक सञ्जाल विधेयकबारे अनावश्यक हल्ला फैलाएको आरोप लगाए।
“हिजो टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” उनले भने, “तर स्वतन्त्रताका नाममा देशविरुद्ध लाग्ने, सामाजिक सद्भाव भड्काउने र शान्ति सुरक्षा खल्बल्याउने काम स्वीकार्य हुन सक्दैन।”
प्रधानमन्त्री ओलीले स्विट्जरल्यान्ड बैंकमा सम्पत्ति रहेको भन्ने हल्लाको खण्डन गर्दै आफू पारदर्शी जीवन जिउने व्यक्ति भएको बताए।
“मलाई किन त्यत्रो सम्पत्ति चाहियो ? दुई वटा रोटी र अलिकति दाल खाने हो। मेरो जीवन खुल्ला छ,” उनले भने, “हल्ला फैलाउने र दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन।”
प्रधानमन्त्री ओलीले सुशासनकै माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने उल्लेख गर्दै कानुनी सुधारलाई सरकारले तीव्र गतिमा अगाडि बढाइरहेको बताए।
उनले नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका व्यवसायी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे।