नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपरासी,०७ फागुन : नवलपरासी पूर्व (नवलपुर) मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा लक्षित १० देखि १४ वर्ष उमेर समूहका ९६.१८ प्रतिशत बालिकाहरूलाई खोप लगाइएको छ।

कुल १७,०९९ बालिकालाई खोप दिने लक्ष्य राखिएकोमा १६,४४५ बालिकाले खोप प्राप्त गरेका छन्। खोप अभियान प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा जिल्लाका आठ पालिकामा दुई चरणमा सञ्चालन गरिएको थियो। विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका ४६ जना बालबालिका तथा १० देखि १४ वर्ष उमेर समूहका ९३ जना बालिकालाई पनि खोप उपलब्ध गराइएको छ।

एचपीभी खोप: किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध अभियान

खोप केन्द्र प्रमुख चौधरीका अनुसार तथ्याङ्क सङ्कलनका क्रममा विद्यालयहरूबाट प्राप्त गलत विवरणका कारण खोप लगाउने वास्तविक सङ्ख्यामा केही अन्तर देखिएको हो। विद्यालयहरूले अनजानेमा किशोरकिशोरीहरूको तथ्याङ्क पनि उपलब्ध गराएका कारण लक्ष्यभन्दा केही कम मात्र बालिकाहरूले खोप लगाएको जस्तो देखिए पनि सबै लक्षित बालिकाहरूलाई खोप लगाइएको चौधरीले बताइन्।

खोप अभियान गैंडाकोट, देवचुली, बौदीकाली, बुलिङटार, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणी पालिकामा दुई चरणमा सञ्चालन गरिएको थियो। जिल्लाभर २३० विद्यालयसहित कुल ३२० खोप केन्द्र सञ्चालन गरिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *