काठमाडौं, माघ २९ – आज माघ शुक्ल पूर्णिमाका दिन एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा सुरु गरेको यो व्रत मध्याह्नकालमा पूजा गरी समापन गर्ने प्रचलन छ।
व्रतालुहरूले १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, सिन्दूर, वस्त्र, भेटी आदिको अर्घ्य चढाई भगवतीको पूजा गर्छन्। चढाइएको प्रसादलाई पति, छोरा, मीत छोरा वा पवित्र नदीमा विसर्जन गर्ने परम्परा छ। सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र देवीको माहात्म्य सुन्ने-सुनाउने परम्परा रहिआएको छ, जसले व्रतालुको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, चार हातमा नीलकमल, खड्ग, ढाल, वरदमुद्रा धारण गरेकी देवी भनेर वर्णन गरिन्छ। व्रतले बिछोड भएका जोडीहरूको पुनर्मिलन गराउने, रोगव्याधि हटाउने र इच्छाएको वरदान प्राप्त गराउने विश्वास गरिन्छ। पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न स्वस्थानी व्रत गरेको कथा पनि स्वस्थानी कथामा उल्लेख छ।
यसैबीच, काठमाडौं उपत्यकाको शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदै छ। करिब दुई सय महिला-पुरुषले एक महिना लामो कठोर माधवनारायण व्रत सम्पन्न गरेका छन्। नेवार समुदायले भने आजको दिनलाई ‘सि पुन्हि’ का रूपमा मनाउने प्रचलन छ।