२८ माघ, काठमाण्डौ : सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोग गर्दै उन्नत जातका उखु उत्पादन गरेका ४७ जना किसानलाई सम्मान गरेको छ। उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार, किसानलाई उखु खेतीमा प्रोत्साहित गर्ने उद्देश्यले सम्मान गरिएको हो।सम्मानित किसान विष्णुपुरका पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउ र प्रविधिको प्रयोगले उखु उत्पादन वृद्धि भएको बताइन्।
उखु उत्पादक किसान माधव थापाका अनुसार, विगतमा प्रति कठ्ठा २० क्वीन्टल उत्पादन गर्न नसकेको खेतमा अहिले ६० क्वीन्टलसम्म उखु फलाउन सफल भएका छौ। उद्योगका अध्यक्ष राजेश केडियाले खेतीको गुणस्तर सुधार गर्न जोड दिँदै स्थानीय, प्रदेश र सङ्घ सरकारलाई उखु जोन कायम गर्न आग्रह गरे।
हरिवन नगरप्रमुख रमेश बुढाथोकीका अनुसार, नगरपालिकाले उद्योगसँग मिलेर उखु किसानलाई सिँचाइ, प्रविधि, र उन्नत बीउविजन उपलब्ध गराउने योजना बनाएको छ। सर्लाहीमा हरेक वर्ष ६४ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ, जहाँ इन्दु शङ्कर, अन्नपूर्ण, र महालक्ष्मी चिनी उद्योग सञ्चालनमा रहेका छन्।