२८ माघ, काठमाण्डौ : भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाइरहेको छ। टङ्गालस्थित आयोगको कार्यालयमा विविध कार्यक्रमसहित मनाइएको यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा आमन्त्रित भएका छन्।
अख्तियार नेपालको संविधानद्वारा स्थापित संवैधानिक निकाय हो, जसलाई सार्वजनिक पदधारीहरूले गरेका भ्रष्टाचारसम्बन्धी अनुसन्धान, कारबाही, रोकथाम, तथा सुशासन प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ।संविधानको धारा २३९ ले अख्तियारलाई भ्रष्टाचार नियन्त्रणका लागि कानुनी अनुसन्धन गर्ने तथा प्रमाणित भएमा अदालतमा मुद्दा दायर गर्ने अधिकार प्रदान गरेको छ। अख्तियारको ३४औँ वार्षिक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २६,९१८ नयाँ उजुरी र ९,२६८ पुराना मुद्दाहरू गरी कुल ३६,१८६ उजुरी प्राप्त भएका थिए, जसमा २७,७१४ उजुरी फछ्र्यौट गरिएको छ।
भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अख्तियारले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक, तथा संस्थागत सुधारका उपायहरू अपनाइरहेको आयोगका सचिव घनश्याम उपाध्यायले बताए। आगामी दिनमा थप प्रभावकारी अनुसन्धान, कारबाही, तथा सुशासन प्रवद्र्धनका उपायहरू अवलम्बन गरिने बताइएको छ।