२५ माघ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ स्थित बीपी राजमार्गमा आज बिहान भएको कार दुर्घटना मा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९६४२ नम्बरको ईभी कार सडकबाट झन्डै ४०० मिटर तल खस्दा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल चौरसियाका अनुसार, दुर्घटनामा दोलखाको गौरीशंकर गाउँपालिका निवासी २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको छ।
घाइतेहरूमा इलामको देउमाई–८ का ५३ वर्षीय सनबहादुर तामाङ, मोरङको लेटाङ–२ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौंको कागेश्वरी मनोहरा–५ का २८ वर्षीय श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोका, र झापाको बारादशी–१ निवासी २७ वर्षीय तिस्कु मण्डल रहेका छन्। घाइतेमध्ये मोरङकी देवी लिम्बूको अवस्था गम्भीर रहेको छ।
गाडी आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटनामा परेको गाडीको चालक को थिए भन्ने खुल्न सकेको छैन। हाल घाइतेहरूको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।