२५ माघ, काठमाडौं । रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद, ब्यारेक निर्माण तथा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लक्ष्यअनुसार अघि बढिरहेको बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विपद् प्रतिकार्यमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरु बिन्दु निर्माणका लागि सरोकारवालाबीच समन्वय भइरहेको जानकारी दिए।
उनले निर्माण कार्य कानुनसम्मत र पारदर्शी रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै द्रुत मार्गको गुणस्तर कायम गर्न कुनै सम्झौता नगर्ने बताए। रेलमार्ग खोकना क्षेत्रमा नजाने र त्यहाँ स्मार्ट सिटी बनाउन नसकिने समेत स्पष्ट पारे।